काठमाडौं – ट्युनिसियाको राजधानी ट्युनिसमा राष्ट्रपति काइस सइदको राजीनामा माग्दै प्रदर्शन भएको छ । खाद्य र आर्थिक संकटमा गुज्रिरहेको बेला हुन लागेको चुनाव अगाडि राष्ट्रपति सइदले संविधानमा गरेको संशोधनले संसदलाई कमजोर बनाउने भन्दै विरोध प्रदर्शन भएको हो ।
ट्युनिसियामा एक साता पछाडि आम निर्वाचन हुँदैछ । चुनावको कारण हो राष्ट्रपतिले गरेको संविधान संशोधन । फेरि चुनाव गराउनुपर्ने निर्णयको विपक्षमा धेरै देखिएका छन् । विरोध गर्नेहरुका अनुसार राष्ट्रपति सइदले आफैंलाई बलियो बनाउने उद्देश्यले संविधान संशोधन गरेको आरोप लगाएका छन् ।
त्यहाँका तानाशाह भनेर चिनिएका बेन अलीलाई सशक्त आन्दोलनमार्फत् हटाएपछि सइद २०१९ मा राष्ट्रपति चुनिएका थिए । राष्ट्रपति सइदले सन् २०२१ मा संसद भंग गर्दै प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यतिबेलादेखि नै उनले सरकार चलाइरहेका छन् । यसै वर्ष उनले थुप्रै कानुनी व्यवस्था संशोधन गरेर राष्ट्रपति पदमा शक्ति केन्द्रित गरेका छन् ।
ट्युनिसियामा एक वर्षदेखि लगातार महँगी बढिरहेको छ । यसै महिना महँगीको दर बढेर करिब १० प्रतिशत पुगेको छ । बढ्दो महँगीविरुद्ध मानसिहरु सडकमा उत्रिएर प्रदर्शन गर्दै आएका छन् ।
कतिपय कामको पारिश्रमिक नपाएको विरोधमा हड्तालमा उत्रिएका छन् । खासगरी बेकरी उद्योगमा काम गर्नेहरुले पारिश्रमिक पाएका छैनन् । पहिले सरकारले बेकरी उद्योग सन्चालकलाई अनुदान दिएको थियो । तर एक वर्षदेखि त्यो अनुदान पनि बन्द छ । ट्युनिसियामा विरोध प्रदर्शन हुनुको अर्को एक प्रमुख कारण खाद्यान्न आपूर्तिको कमी रहेको मिडिलइष्ट आईले जनाएको छ ।






