इस्लामाबाद- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पूर्वी सहर वजिराबादमा विरोध जुलुस निकाल्ने क्रममा भएको बन्दुकको आक्रमणबाट जोगिएका छन् ।
उनको गाडीमा गोली लागेर खुट्टामा चोट लागेको थियो । एक जनाको ज्यान गएको छ भने कम्तीमा पाँच जना घाइते भएका छन् ।
आक्रमणको उद्देश्यको बारेमा कुनै तत्काल आधिकारिक टिप्पणी नआएको उनका सहयोगीहरूले बताएका छन् । तर यो आक्रमण उनको हत्याकैलागि गरीएको बताइएको छ ।
७० वर्षीय खानले पाकिस्तानमा निर्वाचनको माग गर्दै जुलुसको नेतृत्व गरिरहेका थिए ।
खुट्टामा गोली लागेलगत्तै इमरानलाई अस्पताल पुर्याइएको थियो । चिकित्सकहरूका अनुसार उनी खतरामुक्त छन् । पार्टीका प्रवक्ताले इमरानको पिडौंलामा चोट लागेको बताएका छन् । सन्दिग्ध एक पुरुष पक्राउ परेको पाकिस्तानको जीओ टेलिभिजनले जनाएको छ ।
अमेरिका र पाकिस्तानी सेनासँग मिलेर आफूलाई सत्ताच्युत गरिएको दाबी गर्दै इमरानले आफ्नो नेतृत्वमा निरन्तर विरोध प्रदर्शनहरू गर्दै आएका छन् । त्यस क्रममा प्रधानमन्त्री शहबाज सरिफ नेतृत्वको वर्तमान सरकारको राजीनामा र नयाँ चुनावको गरिनुपर्ने माग प्रमुख रूपमा उठाइएको छ । तर सरकारले प्रदर्शनकारीमाथि दमन गर्दै आएको छ ।






