काठमाडौं- कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक सोमबार बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनकको भाग्योदय भएको हो। निबर्तमान प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट उनी प्रधानमन्त्री बने।
लिज ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छिन्।
मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु परेको थियो। साथै उनको कार्यकालमाबेलायतको मुद्रा अवमूल्यन भएको थियो। गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए। तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएका थिए। नयाँ प्रधानमन्त्री सुनक पूर्वी अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र हुन्।






