दमौली –तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बसे । साउदीमा बस्दा उनको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उहाँ घर फर्किए २०५८ सालमा ।
घर फर्किएपछि अब विदेश नजाने सोच उनमा पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन सकिए आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका साथ उनले विसं २०६२ बाट बाख्रापालन सुरु गरे । “सुरुमा त के गर्ने भन्ने लागिरहेको थियो, पछि पशुपालन गर्छु भन्ने सोच आयो, परिवारसँग पनि सल्लाह गरेर बाख्रापालन सुरु गरेँ”, आले भन्छन्, “सुरुआती चरणमा थोरै बाख्रा पालेर व्यवसायलाई अगाडि बढाएँ ।” विसं २०७२ मा भने फार्म नै दर्ता गरी व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको आले बताउछन् ।
परिवारसँगै बसेर घरमै व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको उनको भनाइ छ । “अर्काको देशमा घरपरिवार छाडेर बस्दा मन कत्ति पनि रमाउँथेन, अहिले परिवारसँगै बसेर बाख्रापालन गर्दा सन्तुष्टि मिलेको छ ।” विदेशमा भेडाबाख्रा चराउने काम गरेको अनुभव आलेलाई स्वदेशमा फाइदा भएको छ ।
आलेलाई जेठो छोरा र श्रीमतीले बाख्रापालनमा सघाइरहेका छन् । “श्रीमती र छोराको सहयोगले पनि बाख्रापालन व्यवसाय अगाडि बढाउन मद्दत मिलेको छ”, उनले भने । विदेशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै बसेर केही न केही काम गर्न सके आनन्द आउने उनले सुझाव दिए ।
आलेको बाख्राफार्ममा अहिले ८० भन्दा बढी बाख्रा छन् । बाख्रा बेचेर वार्षिक रु चाररपाँच लाख आम्दानी हुने गरेको छ । बाख्रा बिक्रीका लागि कुनै समस्या छैन । बाख्रा खरिदका लागि व्यापारी घरसम्मै आउने गरेका छन् ।
सोही ठाउँका रुपबहादुर थापा पनि बाख्रापालनमा आबद्ध छन् । उनले ५० भन्दा बढी बाख्रापालन गरिरहेका छन् । “बाख्रापालन नै आम्दानीको मुख्य स्रोत हो, बाख्रा पालेरै घरखर्च चलाउँदै आएको छु”, उनी भन्छन्, “आफूले जे गरेको छ त्यसमै सन्तुष्टि हुनुपर्छ ।”
यही ठाउँकै आइतसिंह आले, सन्तबहादुर आलेलगायत २१ घरधुरी बाख्रापालनमा आबद्ध छन् । सबैले १५र२० वटा बाख्रापालन गरिरहेका छन् । यहाँका स्थानीयवासीको घरमा बाख्रा नहुने कुनै घर छैन । यहाँका स्थानीयवासीले यस वर्षको दसैँका लागि रु सात लाख बराबरको खसीबोका बिक्री गरेका छन् । कृषकले पालेका ३० वटा बाख्रा एकैचोटि बिक्री गरिएको छ । प्रतिकिलो रु पाँच सय ८० का दरले बाख्रा बिक्री गरिएको छ ।
भीमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आले २०६८ सालदेखि बाख्रापालनमा आबद्ध छन् । उनको बाख्रा फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् । आलेले बाख्रापालनबाट वार्षिक रु आठरनौ लाख आम्दानी गर्छन् ।
सव ओभरसियर उत्तीर्ण भएपछि जागीर नखाएर किन पशुपालनतर्फ लागेको भन्दै गाउँलेले भन्ने गरेको स्मरण गर्दै आले सम्झिन्छन्, “मैले गाउँमै बसेर पशुपालनमार्फत् गाउँलाई नमूना बनाउँछु भन्ने अठोट लिएर यसतर्फ अगाडि बढे ।”
बाख्रापालनका लागि आधुनिक बाख्रा खोर निर्माण गरिएको छ । अन्न फल्ने खेतबारीमा बाख्राका लागि घाँसखेती गर्दा कमैले मात्रै उत्प्रेरणा प्रदान गरे पनि उहाँले आफ्नो कर्म कहिल्यै छाड्नुभएन । फलस्वरुप उहाँ अहिले जिल्लाकै नमूना बाख्रापालक कृषकको रुपमा परिचित हुन सफल भएका छन्आलेले बाख्रापालनका लागि १५ हजारभन्दा बढी घाँसका बिरुवा रोपेका छन् । “पहिला–पहिला त गाउँमा बसेर के पशुपालन गरेको विदेश जाउ पनि भन्थे तर अहिले मेरो सफलता देखेर अन्य मानिसले समेत हौसला दिने गरेका छन्”, उहाँ खुसी हुँदै भन्छन् ।साना किसान लघुवित्तमार्फत दश महिना इजरायल बसेर फर्किएका आलेले पशुपालनको क्षेत्रमा थप कुरा सिक्ने अवसर पाएको उल्लेख गरे ।







