काठमाडौं – बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ ।
बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको हो ।
७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको बालमोरल दरबारमा बिहिवार साँझ निधन भएको थियो ।
उनले सन् १९५२ मा सत्तारोहण गरेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई स्कटल्यान्डस्थित उनकै निवासमा चिकित्सकको निगरानीमा राखिएको थियो ।
बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, महारानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्ण मृत्यु भयो । महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।
उनले नेपालप्रति पनि सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो ।






