काठमाडौं – लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मौसमविद्हरूले तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।
गर्मीकै कारण लन्डन स्थित विमानस्थलहरुको धावनमार्ग पग्लिएपछि कतिपय उडानहरू रद्द भएका छन्। बन्दका कारण केही विद्यालयहरु पनि बन्द गरिएका छन् । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ ।
स्पेनमा केही समय यतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ। मन्त्रालयले देशको तापक्रम ४५ डिग्री सेल्सियस सम्म पुगेको बताएको छ ।
गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता मात्र १५० जनाको ज्यान गएको जनाएको छ।
त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले बताएका छन्। यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरूमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ।
चीनमा पनि गर्मिको कारण जनजिवन प्रभावित भएको छ । प्रमुख सहरहरु सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ। शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ।
केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ।
एजेन्सीहरुको सहयोगमा





