एजेन्सि – श्रीलंकामा जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् । कब्जा गरेलगत्तै राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन् । राजापाक्षे कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलंकामा छन् वा देश छाडेर गए छन् भन्ने खुलेको छैन ।
यसैबीच प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । यहाँ आन्दोलनकारीले उनको निजी घरमा आगजनी गरेका छन् ।
राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए । श्रीलंकाको संविधानअनुसार सभामुख महिन्दा याप्पा अभयवर्धनेलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए ।
राष्ट्रपति गोटावाया राजापाक्षले ‘मुलुकको संकट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने’ भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् ।
आर्थिक संकट, इन्धन अभाव, मूल्यवृद्धि न्यूनीकरण गर्न नसकेकाले ‘पदमा बसिरहनुको औचित्य नरहेको’ प्रदर्शनकारीको भनाइ छ । आफ्नो जिम्मेवारीमा असफल भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । राष्ट्रपतिकै राजीनामा माग्दै आन्दोलन चर्किएपछि प्रधानमन्त्रीबाट राजीनामा आएको हो ।
प्रधानमन्त्रीको राजीनामापछि बाहिरबाटै श्रीलंकाका राष्ट्रपतिले सबै दलको आपतकालीन बैठक बोलाएका छन् । उनी ‘अब कसरी मुलुकको समस्या समाधान गर्ने ?’ भनेर राय लिने प्रयासमा छन् । तर, उनको राजीनामा मागसहित सार्वसाधारणको आन्दोलन चर्किरहेको छ । केही ठाउँमा आन्दोलनकारीले कफ्र्युसमेत उल्लंघन गरेपछि प्रहरीले अश्रुग्याससहित गोली चलाएको छ ।






