काठमाडाैं – इजरायलमा अलजजिराकी एक जना पत्रकारको गोली लागेर मृत्यु भएको छ ।
बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको समाचार संस्था द टाइम्स अफ इजरायलले जनाएकाे छ ।
इजरायली सेनामाथि पत्रकार अक्लेहको हत्या गरेको आरोप लगाइएको छ । सोही क्रममा सेनाले जारी गरेको विज्ञप्ति अनुसार बुधबार संदिग्ध र सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो ।
सेनाले भने प्यालेस्टिनीको गोली लागेर पत्रकार मारिएको हुनसक्ने अनुमान गरेको छ । इजरायली सेनाले यस विषयमा अनुसन्धान गरिरहेको छ । अक्लेहको ट्वीटर प्रोफाइलका अनुसार उनले विगत १५ वर्षदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे रिपोर्टिङ गरिरहेकी थिइन् ।
गोलीबारीमा जेरुसेलमको अल कुड्स पत्रिकाका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार पनि घाइते भएका छन् । प्यालेस्टिनी पत्रकारको अवस्था स्थिर रहेको बताइएको छ ।
५१ वर्षिय अबु अक्लेहकाे टाउकाेमा गाेली हानिएकाे बताइएकाे छ ।







