एजेन्सी- गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा फेरि आपतकाल घोषणा भएको छ। राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका हुन्।
श्रीलंकामा सरकारको विरोधमा प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन्।राष्ट्रपति कार्यालयका प्रवक्ताले सार्वजनिक व्यवस्था सुनिश्चित गर्न कडा कानूनको आह्वान गरेको बताएका छन्।
श्रीलंकामा देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए। लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीव्र अभावले दुई करोड २० लाख जनसंख्या भएको श्रीलंका अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ।






