काठमाडौं,चैत्र २७
वन जंगल तथा प्रशस्त घाँसे मैदान भएको कारण भोजपुरका ग्रामीण भेगका अधिकांश मानिसहरूले पशुपालन गरिरहेका छन् । तर, उनीहरूले सोचेजस्तो आम्दानी भने लिन सकेका छैनन् । दूरदराजका किसानलाई उत्पादन भएको दूधलाई बजारसम्म लैजान नै समस्या छ ।
जसको कारण उत्पादित दूध बिक्री वितरण गर्नुभन्दा पनि आफैले खपत गर्नुपर्ने अवस्था छ । गाउँघरमा प्रशस्तमा मात्रामा पशुपालन हुने भए पनि बजारमा दूध तथा दुग्धजन्यवस्तुको भने अभाव नै रहन्छ ।
व्यावसायिक रूपमा केही किसानहरूले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रूपमा पशुपालन गरिरहेका छन् । तर, ती कृषक पनि लगानी तथा मेहनतअनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन् । उनीहरूलाई उत्पादित दूध सहज रूपमा बजारसम्म जैलाने वातावरण छैन ।
सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरीला, ढुंगेलगायत ठाउँका मानिस पराम्परागत रूपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन् । तर, उनीहरूमध्ये बजारमा ल्याएर दूध बिक्री गर्न कमै मात्र उत्सुक देखिन्छन् ।
ग्रामीण भेगमा प्रशस्त मात्रामा दूधको उत्पादन भए पनि सडक तथा अन्य विविध कारणले किसानले बिक्री गर्न असम्भव छ । बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिस खास व्यावसायिक रूपमा दूध उत्पादनमा लागेका छैनन् । स्थानीय सरकारले उपयुक्त वातावरण मिलाई दिए व्यावसायिक रूपमा लाग्ने किसान बताउँछन् ।बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ । केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसान पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउँछन् ।







