स्मार्ट अक्षर संम्वाददाता ।
काठमाडौं,चैत्र २५- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताएकी छन्।
शुक्रबार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रित गर्नुपर्ने बताइन्।
राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रित भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताएकी हुन्। पहाडी र हिमाली भेगमा सिँचाइ पुर्याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उनले बताइन्।
“हाम्रो उर्वरा जमिन एकदम घनिभुत ढंगले तराई, मधेश हो। हाम्रो सबै राष्ट्रिय गौरव लगायतका आयोजनाहरु तराई केन्द्रित छन्। तर फेरि उर्वरा जमिन पहाडमा पनि छ,” उनले भनिन्, “हिमाली भेगमा पनि छ। हामीले त्यसलाई पनि सम्बोधन गर्ने नीति, योजना, कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो अनुभूतिको विषय हो।”
मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताइन्। उनले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताइन्। आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन्।
“राष्ट्रलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउने कुरा, समृद्धिमा लाने भन्ने नाराभन्दा हाम्रो व्यवहार सबैभन्दा मुख्य हुन्छ। त्यसैले सबैले आ–आफ्नो ठाउँबाट आयातित चिजलाई सकेसम्म प्रयोग नगरेर देशैभित्रको चिजको खोजी गर्ने,” उनले भनिन्, “उत्पादनमा सहभागी हुने। कृषि उत्पादनमा व्यक्तिगत हिसाबले पनि हामी नमूना बनौँ। त्यसपछि हाम्रा नीति, योजना, कार्यक्रम सबै त्यतातिर केन्द्रित गर्ने गरेर लागौँ।”







