काठमाडौं,चैत्र २०, स्मार्ट अक्षर संम्वाददाताः
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ ।
दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ । परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद भाेली साेमबारसम्म मात्र छ । कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारी प्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका कम्म्प्युटर इन्जिनियर टेकबहादुर खडकाले आवेदन दिने अन्तिम म्यादको अघिल्लो दिनसम्म कृषि क्षेत्रमा पाँच हजार पाँच सय र उत्पादनमूलक क्षेत्रमा १९ हजारको आवेदन परेको जानकारी दिए । शाखाले हालसम्म परेको आवेदनको आधारमा अन्तिम दिनसम्म ३० हजार पुने अनुमान गरेको छ ।
शाखाले चैत १४ देखि २१ गतेसम्म परीक्षाको अनलाइन आवेदन दिन सक्ने गरी सूचना जारी गरे पनि चैत १९ गतेसम्म २५ हजार पाँच सयले मात्र आवेदन दिएका छन् । सन २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा सन २०२२ का लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजनासहित वैशाखबाट परीक्षा सञ्चालन गर्न आवेदन माग गरिएको हो ।
वैदेशिक रोजगार विभाग ईपीएसशाखाले भाषा परीक्षालाई मर्यादित बनाउन परीक्षार्थीको बायोमेट्रिक गरिने भएको छ । अन्य व्यक्तिको नाममा अनाधिकृत व्यक्तिले परीक्षा दिएमा चार वर्षसम्म भाषा परीक्षामा समेल हुन नदिइने शाखाले जनाएको छ । ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गदै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।







