एजेन्सी,चैत्र १८,
खाद्यान्न, इन्धन र उर्जाको चरम अभाबका कारण श्रीलंकाली राष्ट्रपति गोताभाया राजपाक्षेको निवास बाहिर विरोध प्रदर्शन भएपछि कर्फ्यु जारी गरिएको छ ।
बिहीबार राति आक्रोसित भिडले प्रहरीले सडकमा तेर्साएका अवरोधहरु पार गर्दै एउटा बसमा आगजनीसमेत गरेको बताइएको छ । राष्ट्रपति राजपाक्षेले यस घटनामा ‘अतिवादी तत्व’को हात रहेको आरोप लगाएका छन् ।
अहिले विदेशी मुद्रा सटही समस्याका कारण श्रीलंकाले अत्यन्तै नाजुक अर्थतन्त्रको सामना गरिरहेको छ । १३ घन्टा लामो विद्युत् लोडसेडिंग, इन्धन र अत्यावश्यक खाद्य वस्तुलगायत औषधिको अभावका कारण जनआक्रोस उच्च विन्दुमा पुगेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति भवन अगाडि शान्तिपूर्ण ढंगले अघि बढिरहेका बेला प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थिती हिंसात्मक हुन पुगेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रयोग गर्नुका साथै कुटपिटसमेत गरेका थियो ।






