एजेन्सी,चैत्र १८, रुसी सैनिकहरूले युक्रेनमा रहेको चेर्नोबिल आणविक भट्टीलाई छोडेर गएको युक्रेनी अधिकारीहरूले बताएका छन् । ‘चेर्नोबिल आणविक भट्टी रहेको भूभागमा कुनै पनि विदेशीहरू छैनन्,’ भट्टी सञ्चालन गर्ने निकायले फेसबूकमा लेखेको छ । रुसले युक्रेनमा आक्रमण गरेकै दिनदेखि चेर्नोबिल कब्जामा राखेका थिए । उनीहरू त्यहाँबाट गएको युक्रेनको सरकारी आणविक कम्पनी इनर्जोएटमले पुष्टी गरेको छ ।
‘आज बिहान रुसी सैनिकहरूहरूले चेर्नोबिल आणविक भट्टी छोडेर जाने उद्देश्यका बारेमा बताएका थिए,’ इनर्जोएटमले टेलिग्राममा लेख्यो ।रुसी सैनिकहरू दुई पंक्ति बनाएर बेलारुस सीमातर्फ गएको र सानो संख्यामा मात्र रुसी फौजहरू भट्टीमा बसेको उसले जानकारी दियो । ‘रुसी सैनिकहरूको पंक्तिले स्लाभुटीच शहर कब्जामा लिएका थिए तर उनीहरू पनि बेलारुसतर्फ गइरहेको प्रमाण छ,’ उसले थप्यो । स्लाभुटीचमा चेर्नोबिल आणविक भट्टीका कामदारहरूलाई राखिएको छ । रुसले आक्रमण गरेपछि चेर्नोबिलमा विकिरण फैलिने जोखिमको डर बढेको थियो ।
सन् १९८६ मा चेर्नोबिलको एक रियाक्टर विस्फोट हुँदा सयौंको मृत्यु भएको थियो भने युरोपमा रेडियोधर्मी संक्रमण फैलिएको थियो ।






