टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनको मध्यस्थतामा मंगलबारदेखि इस्तानबुलमा रुस र युक्रेनका प्रतिनिधि मण्डलबीच शान्ति वार्ता भइरहेको छ ।रुसले यो शान्तिवार्तामा युक्रेनको राजधानी किभ र चेयरनिभमा आफ्नो आक्रमणलाई ‘धेरै कम’ गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिका र बेलायतले रुसको यो प्रतिबद्धतालाई लिएर ‘सावधानी अपनाउन’ अपिल गरेका छन् । रुसले गएको २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि दुई देशबीच कैयौं पटक भएका वार्ताहरुमा खासै प्रगति हुन सकेको थिएन । यसैबीच मंगलबारदेखि टर्कीको इस्तानबुलमा सुरु भएको वार्ताले भने केही सफलताका संकेत देखिएका छन् ।
इस्तानबुलमा जारी वार्ताका क्रममा रुसले युक्रेनमा सैन्य युद्ध अभियानलाई धेरै कम गर्ने बताएको छ । यद्यपि रुसको यो प्रतिबद्धताप्रति पश्चिमी देश भने आश्वस्त देखिएका छैनन् र रुसको यो प्रतिबद्धताप्रति शंका गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इस्तानबुलमा आफ्नो कार्यालयमा रुस–युक्रेनबीच यो वार्ताको आयोजना र सहजीकरण गरिरहेका छन् ।
बाइडेनले यी प्रतिबद्धताहरुको जमिनी स्तरमा पालना हुन्छ कि हुँदैन भन्ने कुरा हेर्नु जरुरी रहेको बताएका छन् । अर्कोतर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रुसले जे भन्छ र जे गर्छ त्यसमा फरक हुने बताएका छन् । यद्यपि कूटनैतिक सन्दर्भमा टर्कीमा जारी यो शान्ति वार्तालाई ‘सार्थक रुपले प्रगतितर्फ बढिरहेको’ बताइएको छ । मंगलबार भएको यो वार्ता ३ घण्टासम्म चल्यो तर यसबाट छानिएर निकै कम जानकारी मात्र मिडियामा आएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क रहन चेतावनी दिँदै भने ‘जबसम्म मैले यो देख्दिन कि उनीहरु यो प्रतिबद्धताप्रति के एक्सन गरिरहेका छन् तबसम्म मैले यो बयानमा केही देख्न सकिरहेको छैन।’






