काठमाडौँ – – राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको औपचारिक भ्रमणको क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डाक्टर फ््र्याङ्क–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमवार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको बर्लिनमा रहेको नेपालको दूतावासले जनाएको छ । २०४३ सालपछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण पनि हो ।
नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । राष्ट्रपति पौडेल नेतृत्वको टोलिलाई हिजो बेलुका बर्लिन विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कासहित जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।